भैरहवा । रुपन्देही जिल्लामा यस वर्षको तिहारमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै प्रचलित परम्परा अनुसार मनाइने देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो। प्रशासनले चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै सुरक्षित, अनुशासित र शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।
जारी सूचना अनुसार सर्वसाधारणलाई बाधा–अवरोध र असर पर्ने गरी ध्वनि प्रदूषण गराउने साउण्ड सिस्टम (डिजे) नबजाउन, जुवातास खेल्ने तथा खेलाउने जस्ता गैरकानुनी गतिविधि नगर्न आग्रह गरिएको छ । यसैगरी भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता प्रज्वलनशील र विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन समेत कडा निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा जारी सूचनामा प्रशासनको निर्देशन विपरीत कुनै पनि गैरकानुनी कार्य गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।