भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रमा प्रहरी निर्वाचन सुरक्षामा केन्द्रित भएको मौका छोपी तस्करहरूले अवैध ओसारपसार तीव्र पारेका छन्। सुरक्षाकर्मीको ध्यान चुनावतर्फ मोडिएको फाइदा उठाउँदै रातिको समयमा तस्करी बढ्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। यद्यपि, प्रहरीले पछिल्लो २४ घण्टामा चलाएको विशेष अभियानका क्रममा रुपन्देहीका विभिन्न स्थानबाट करिब साढे आठ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका ८ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दका अनुसार, लुम्बिनी सांस्कृतिक नगरपालिका –३ पडेरियास्थित एक कृषि फार्ममा छापा मार्दा ठूलो परिमाणमा अवैध कपडा फेला परेको छ। भन्सार छलेर ल्याई लुकाएर राखिएको अवस्थामा ७ सय ७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको हो। करिब सात लाख १२ हजार रुपैयाँ मूल्य बराबरको उक्त कपडासहित प्रहरीले फार्म सञ्चालकलाई समेत पक्राउ गरेको छ।
यसैगरी, प्रहरीले रोहिणी गाउँपालिका–१ स्थित झोलुङ्गेपुल नजिकैबाट बेवारिसे अवस्थामा रहेका दुईवटा मोटरसाइकल सहित अन्य उपभोग्य सामग्री पनि नियन्त्रणमा लिएको छ। डिएसपी चन्दका अनुसार ती मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्निकर्स चकलेट बरामद गरिएको छ। बरामद गरिएका पेय पदार्थ र चकलेटको मूल्य ७८ हजार ६ सय तथा मोटरसाइकलको ५० हजार गरी कुल एक लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति तथा बरामद गरिएका सम्पूर्ण सामान थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।
यता, स्थानीय बासिन्दाले भने चुनावको बहानामा सीमा क्षेत्रमा सुरक्षा सतर्कता कम भएको गुनासो गरेका छन्। स्थानीयका अनुसार सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रित हुँदा तस्करहरूले राति ११ बजेदेखि बिहान ५ बजेसम्मको समयलाई अवैध ओसारपसारको मुख्य माध्यम बनाएका छन्। रातको समयमा सिमानामा चहलपहल बढ्ने र निर्बाध रूपमा सामान भित्रिने गरेको भन्दै स्थानीयले सीमा नाकामा गस्ती बढाउन र सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन्।