काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गर्नुभएको छ । सोमबार टर्किस एयरलाइन्सको उडानबाट उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोप शिखर सम्मेलन आयोजना भइरहेको टर्कीएको आन्ताल्या सहरतर्फ प्रस्थान गर्नुभएको हो ।
शिखर सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालका प्रमुख एजेन्डालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट सशक्त पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ । टर्कीएको आन्ताल्यामा सोमबारदेखि सुरु भई आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुने उक्त विश्व सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसक्नुभएको छ । विभिन्न उच्चस्तरीय बैठक तथा सत्रहरूमा सहभागी भई अर्थमन्त्री वाग्ले यही कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।