भैरहवा । लायन्स क्लब अफ भैरहवा लिगेसीले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा सिद्धार्थ राजमार्ग किनारमा वृक्षारोपण गरेको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले ओमसतिया गाउँपालिका–२ पडसरीस्थित सिद्धार्थ राजमार्ग क्षेत्रमा आइतबार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष नारायण प्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरण जोगाउनका लागि यस्ता वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । स्थानीय क्षेत्रमा वातावरणीय सन्तुलन कायम राख्न बिरुवा रोपिएको र तिनको गोडमेल तथा संरक्षणमा समेत क्लबले विशेष ध्यान दिने कार्यक्रम संयोजक एवं क्लबका सचिव रामनारायण ठाकुरले बताउनुभयो ।