भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा अवैध चोरीपैठारी नियन्त्रण अभियानलाई तीव्रता दिँदै दुई दिनमा १४ लाख २१ हजार २२० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीको कमान्डमा प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि कडा निगरानी बढाएपछि भदौ ०७ र ०८ गते जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सबैभन्दा ठूलो परिमाणमा रोहिणी गाउँपालिकाबाट महँगा अत्तर (पर्फ्युम) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धकधईको टोलीले रोहिणी-३, धकधईबाट AFNAN, HAWAS, KHAMRAH, र PM 9 RWBEL जस्ता ब्रान्डका ९९ पिस अत्तर बरामद गरेको हो, जसको बजार मूल्य ५ लाख ९४ हजार रुपैयाँ अनुमान गरिएको छ । यसैगरी, मायादेवी गाउँपालिकाका विभिन्न स्थानबाट पनि ठूलो मात्रामा अवैध सामान बरामद भएको छ ।
प्रहरीले मायादेवी-६ बाट २ लाख ४० हजार ९०० रुपैयाँ बराबरको जेन्स लुङ्गी, खादा, चिनी, सल, र दालजस्ता सामानसहित एक जनालाई पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न सोही गाउँपालिका वडा नं. ७ का ३० वर्षीय शैलेस सहानीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । सोही गाउँपालिकाको वडा नं. ६, सानो दुर्गौलियाबाट प्रहरी चौकी हाटिबनगाईको टोलीले अर्को मोटरसाइकलमा ल्याउँदै गरेको ५४ पिस साडी र ५३ पिस कुर्था-सुरवाल बरामद गरेको छ, जसको कुल मूल्य २ लाख ५५ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिकाको बेलहिया बाइपास क्षेत्रबाट १ लाख ७ हजार रुपैयाँ बराबरको लेडिज सुट, किसमिस, राज्मा र कस्मेटिक सामान तथा ओमसतिया गाउँपालिका-२, पडसरीबाट १ लाख २४ हजार ६२० रुपैयाँ बराबरको बेवारिसे किराना सामान बरामद गरिएको छ । रोहिणी गाउँपालिकाबाटै प्रहरीले अवैध रूपमा ल्याउँदै गरिएको ९९ हजार २०० रुपैयाँ बराबरको १०० पिस बोइलर कुखुरासहित रोहिणी–१ का २५ वर्षीय प्रमोद कोहारलाई पनि पक्राउ गरेको छ ।
गत वैशाखमा एसपी प्रदिप बहादुर क्षेत्रीले रुपन्देही प्रहरीको कमान्ड सम्हालेदेखि नै जिल्लामा तस्करी नियन्त्रण र अपराध न्यूनीकरणमा प्रहरी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ । एसपी क्षेत्रीको नेतृत्वमा थालिएको विशेष अभियानले छोटो समयमै सकारात्मक परिणाम देखाएको स्थानीय बताउँछन् । उनको सक्रियताले जिल्लामा ठूला तस्करीका घटनामा कमी आएको र लुकिछिपी हुने चोरीपैठारीमाथि पनि अंकुश लागेको छ, जसले सीमा क्षेत्रमा अपराध नियन्त्रण र राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।