रोहिणीमा जनप्रतिनिधि बिच टकराव, अन्यौलमै गाउँसभा

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

भैरहवा । असार १० गते भित्र स्थानिय तहहरुले गाउँसभा गर्नुपर्नेमा बाध्यात्मक प्रावधान विपरीत रुपन्देहीको रोहिणी गाउँपालिकाले अहिले सम्म गाउँसभा गर्न सकेको छैन । गाउँपालिकाका जनप्रतिनिधिहरु नै एक आपसमा बाझाबाझ गर्दा पालिकाको सम्पूर्ण सेवा प्रवाह प्रभावित भएको छ ।

“बजेट होलिडे” रहेको अवश्थामा सोमबार मात्रै बसेको कार्यपालिकाको बैठकले पूरानै दररेटमा राजस्व असुल्ने निर्णय गरेको छ । सोमबार बसेकोे बैठकले यहि महिनाको १६ गते गाउँसभा गरेको सहमति गरेको थियो । वडा अध्यक्षहरुलाई १ करोड रुपैया दिने सहमतिमा गाउँसभा गर्ने निर्णय भए पनि साँझ गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले यसमा असहमति जनाएका छन् । आफ्नो फेसबुक पेजबाट यादवले वडा अध्यक्षहरुलाई बजेट सिलिङ्ग दिदा गाउँपालिकाको निर्माणाधिन भवनको लागि बजेट अपुग भएको भन्दै असन्तुष्टि पोखेका छन् । 

उनले गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवन पुरा गर्न वडा अध्यक्षहरुले असहयोग गरेको आशयको स्टाट्स पोष्ट गरिरहदा ३ नम्बर वडाका वडा अध्यक्ष समेत रहेका पालिकाका प्रवक्ता बिर बहादुर क्षेत्रीले यसको खण्डन गरेका छन् । उनले पनि सामाजिक सञ्जालबाटै पालिका अध्यक्षले वडा अध्यक्षहरु बिरुद्ध भ्रम फैलाएको बताएका छन् । 

वडा अध्यक्ष क्षेत्रीले पहिलो वर्ष ४ करोड बजेट छुट्टयाएर भवन निर्माणको काम थालिए पनि ठेकेदारले ७० प्रतिशत मात्र काम गरेको र ८० लाख अझै ठेकेदारकै जिम्मा रहेको दावी गरेका छन् । उनले वडा अध्यक्षहरुलाई १ करोड दिएर पालिकाको भवन नै निर्माण हुन नसक्ने भन्ने पालिका अध्यक्षले हल्ला फैलाएको दावी गरे । चालु आर्थिक वर्षमा संचित कोष समेत गरि पालिकाको कोषमा करिब ३० करोड रहेको दावी गरे । “यसबाट वडाहरुले ७ करोड मात्र माग गरेका हौं । बाँकी अध्यक्ष र उपाध्यक्ष जी लै चलाउने हो ।” क्षेत्रीले भने “अहिले आएर हाम्रै कारण गाउँपालिकाको भवन निर्माणमा अवरोध हुने जस्तै हल्ला फैलाईदै छ ।”

यता  गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको भने फरक भनाई रहेको छ । उनले दुई वर्ष म्याद दिएर ९ करोडमा पालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का दिईएको उनले बताए । भवन निर्माणको लागि चालु आर्थिक वर्षमा करिब ५ करोड आवश्यक रहेको उनको भनाई छ । “यो कुरा वडा अध्यक्षहरुले मान्नु भएको छैन, वहाँहरुलाई १ करोड दिदा पालिकाको भवन निर्माणको लागि रकम अपुग हुन्छ ।” यादवले भने “यति मात्र हैन वडा अध्यक्षहरुले वडाको लागि बजेट माग गरिरहदा बिषयगत शाखाहरुलाई बजेट नै छुट्टयाउन सकिएको छैन ।”

रोहिणी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले शिक्षा तर्फ ३ करोड रुपैया छट्टयाएको छ भने स्वास्थ्य, कृषि, पशु लगायत विषयगत शाखाहरुको लागि एक रुपैया पनि विनियोजन नगरेको यादवले जानकारी दिए । “अहिले सम्म रोहिणी गाउँपालिकाको आफ्नो भवन समेत छैन, भाडाका घरमा बसिरहेका छौं ।” पालिका अध्यक्ष यादवले गुनासो गरे “गत वर्ष पनि यस्तै बजेट सिलिङ्गको कारण गाउँसभा ढिलो भएको थियो, अहिले पनि भयो ।”

उनले असार १० गते पहिला नै पटक पटक कार्यपालिकाको बैठक बोलाउदा पनि वडा अध्यक्षहरु उपस्थित नभइ असहयोग गरेको आरोप लगाए । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, रोहिणी गाउँपालिकाले अहिले सम्म बजेट नै ल्याउन सकेको छैन । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार