काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर श्रद्धा र उल्लासका साथ भाइटीका पर्व मनाइएको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका, मखमली तथा सयपत्रीको माला लगाई ओखर र सेलरोटीसहित विभिन्न परिकार खुवाएका छन् भने दाजुभाइले पनि उपहार तथा दक्षिणा दिएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे निर्धारण गरेको थियो। धर्मशास्त्र अनुसार यस वर्ष टीका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किने व्यवस्था मिलाइएको थियो । पर्वका अवसरमा अष्टचिरञ्जीवी र यमराज लगायत देवताको पूजा आराधना गरिएको छ। साथै, आफ्ना दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर र खञ्जनेश्वर महादेव मन्दिर खुला गरिएको थियो। नेवार समुदायले यस पर्वलाई 'किजापूजा' का रूपमा पनि मनाएका छन्।