भैरहवा । संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा निर्देशित “अजिमा र ६ प्रकारका लैंगिक पहिचान” वृत्तचित्रको भैरहवामा विशेष प्रर्दशन गरिएको छ । सोमबार भैरहवा स्थित काशी सिने प्लेक्समा अजिमाको स्ट्रिमिङ्ग गरिएको हो ।
वृत्तचित्रले नेपालको प्राचीन इतिहासदेखि नै महिला अधिकार र तेस्रोलिङ्गी वर्गका मानिसहरूलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गरिरहेको चित्रण गरेको छ । नेपालमा महिला पुरुष संगै ६ प्रकारका लैंगिक पहिचान रहेको र यसलाई वर्तमान पुस्ताले पनि अंगिकार गर्न सक्नु पर्ने सन्देश दिएको छ । वृत्तचित्रको अन्तिम दृश्यमा नेपालको झण्डा मातृसत्तात्मक सत्ताको प्रतिक रहेको देखाउदै जिवित देवी कुमारीलाई नेपाली सत्ताको वागडोर दिनुपर्ने सुझाईएको छ ।
अजिमाहरुको स्थापना देखि उनिहरुको वृहत्तर जानकारी दिने वृत्तचित्रले धेरैको ध्यान खिचेको छ । नेपालको संस्कृति र लैङ्गिक विविधताको अवस्था, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र मातृसतात्मक समाजको चित्रण गर्ने उद्देश्यका साथ वृत्तचित्र प्रदर्शन गरिएको निर्माता एवं संविधान सभा सदस्य सुनिलबाबु पन्तले जानकारी दिए ।
उनले अझै यसलाई लक्षित एवम ठूलो संख्यामा रहेका दर्शकहरु माझ पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । विपश्यना गर्ने क्रममा आफुलाई यस विषयमा अध्ययन गर्ने इच्छा जागेको तथा साथी प्रतिनिधि सभा सदस्यहरुको आग्रहमा वृत्तचित्रको निर्माण गरिएको उनले बताए । २ वर्षको अध्ययन, ६ महिनाको छायांकन र १ वर्षको पोष्ट प्रोडक्सन पछि यो वृत्तचित्र दर्शक सामु आएको निर्माता पन्तले बताए ।
वृत्तचित्र हेरे पछि अजिमा र लैंिगक पहिचानको विषयमा धेरै जानकारी पाईएको स्थानिय एलिना आचार्यले बताइन । उनले ईतिहास देखि नै नेपाल मातृसत्तामा विशेष पहिचान बनाएको र यसलाई वृत्तचित्र मार्फत सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताइन ।
भैरहवाको काशी सिनेप्लेक्समा “अजिमा र ६ प्रकारका लैंगिक पहिचान” को भैरहवामा विशेष प्रर्दशन हेर्न राष्ट्रिय मानव अधिकारको टोली सहित अधिकारकर्मिहरु, सञ्चारकर्मिहरु, विद्यार्थी एवम अन्य सर्वसाधारणहरु पुगेका थिए ।