भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मुनलाइट आवसीय उच्च माध्यमिक विधालयले उचालेको छ ।
भैरहवा खेल मैदानमा तीन दिनसम्म संचालन भएको नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा दश स्वर्ण, पाँच रजत र दुई कास्य गरी १७ पदक प्राप्तीसँगै मुनलाइटले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी उचाल्न सफल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।
उनका अनुसार रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले सात स्वर्ण, नौ रजत, ६ कास्य गरी कूल २२ पदक प्राप्त गरी द्वितीय र सात स्वर्ण, ६ रजत र पाँच कास्य गरी कुल १८ पदकसहित जेसिज माध्यमिक विधालय तृतीय भएको छ ।
समापन समारोहमा विजेताहरुलाई राष्ट्रपति रनिङ शिल्ड (प्रथमलाई), पदक, ट्रफि, मेडल र प्रमाणपत्रहरु सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खानले सिद्धार्थनगर खेलाडीको उर्वर भूमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले खेलमैदानलाई स्तरोन्नती गर्दै लैजाने समेत बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले नगरपालिकाको आफ्नै खेलमैदान प्रतियोगिता संचालन गर्नपाउनु आफुसबैहरुका लागि गौरवान्दित विषय भएको बताए । उनले परियोजना मार्फत नगर क्षेत्रमा नाला सहित सडक पूर्वाधारका निर्माण कार्य हुने भएकोले अगामी दिनहरुमा शिक्षा, स्वास्थ्य र खेलकुद तर्फ विशेष ध्यान दिइने बताए ।
प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेल भएको सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जाह्नवी पाण्डेले बताइन् । उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय , चार हजार चार सय मिटर र छात्र तर्फ सोही अनुसारको रिले दौड भएका थिए ।
त्यस्तै छात्रा र छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै तेक्वान्दो खेलको छात्रा ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि, ४९ के.जी मुनि, ५२ के.जी मुनि तौल समूह, एकल पुम्से तथा छात्र ४५ के.जी मुनि, ४८ के.जी, ५१ के.जी, ५५ के.जी, ५९ के.जी मुनि तौल समूहका र एकल पुम्सेका खेल भएको थियो । २९ विधालय सहभागी भएको प्रतियोगितामा कुल ४२ वटा खेलका इभेन्टहरु भएको सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।