भैरहवा । बौद्ध समाज नेपालको आधिकारिक मुखपत्र ‘ताडपत्र’ विमोचन गरिएको छ । बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका प्रमुख आनन्द भन्तेद्वारा मुखपत्रको विमोचन गरिएको हो ।
कार्यक्रममा आनन्द भन्तेले ताडपत्र पुस्तकले भावी पुस्तालाई उपकार गरेको जिकिर गरे । उनले वर्तमान अवश्थामा रुपन्देहीमा रहेका गुम्बा तथा विहारहरुबारे जानकारीको अभाव रहेको अवश्थामा यो पुस्तकले भावी पुस्ताको लागि उपकार गरेको टिप्पणी गरे । पुस्तकमा रहेका बुद्ध धर्मसंग ऐतिहासिक रुपमा जोडिएका स्थलहरुको विवरण बुद्ध धमए अध्ययन गर्ने तथा अनुसन्धान गर्नेहरुलाई सहयोग पुर्याउने उनले बताए ।
बौद्ध समाज नेपालका सल्लाहकार कमल थापा मगरले ‘ताडपत्र’ बौद्धकालीन सम्पदा र इतिहाससँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । उनले त्रिपिटक पहिलो पटक ताडपत्रमै लेखिएको ऐतिहासिक तथ्य स्मरण गराउँदै उक्त नामले बौद्ध सभ्यता र सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।
संस्थाका अध्यक्ष घनश्याम थापा (शंकर) ले मुखपत्रको पहिलो अंक १०५ पृष्ठको रहेको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा रुपन्देहीका १२ वटा विहार तथा गुम्बाको ऐतिहासिक तथा सांस्कृतिक विवरण समेटिएको छ । आगामी अंकहरुमा लुम्बिनी प्रदेशका सम्पूर्ण विहार र गुम्बाहरुको दस्तावेजीकरण क्रमशः गर्ने योजना रहेको उनले बताए ।
मुखपत्रका सम्पादक यम रानाले समाजको रुपान्तरण बाह्य शक्ति वा संरचनागत परिवर्तनबाट मात्र सम्भव नहुने बताउँदै व्यक्तिको चेतना, सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धले प्रतिपादन गरेका चार आर्य सत्य र अष्टाङ्गिक मार्ग आज पनि मानव समाजका लागि सान्दर्भिक रहेको उल्लेख गरे ।
कार्यक्रममा बौद्ध समाज नेपालले करुणा, मैत्री, मुदिता र उपेक्षाजस्ता बौद्ध मूल्यलाई समाजमा प्रवद्र्धन गर्दै शान्ति, सहअस्तित्व र मानवीय सद्भाव अभिवृद्धिका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको थियो ।
कार्यक्रममा बौद्ध समाज र दर्शनको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै सिंगापुरका मास्टर लिम टीपी र अमुङग एस ओङ्गकोव (ब्रदर वाङ) लाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन बौद्ध समाज नेपालको महासचिव राधिका श्रीसले गरेकी थिइन् ।