कञ्चन । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुद्रपुर सेवा केन्द्रको २० औं वार्षिक साधारणसभा शनिबार रुद्रपुर पीसल्याण्ड भू. पू. सैनिक पब्लिक इङलिस स्कुल, कञ्चन ४ सुनगाभाचोकमा सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सभाको शुभारम्भ गर्दै सामूहिकताले हरेक समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले जनउत्थान साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकोमा प्रशंसा गर्दै शेयर सदस्यहरूको निक्षेपको सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भूमी समस्या समाधान आयोग रुपन्देहीका जिल्ला सदस्य राम बहादुर थापा, रुद्रपुर पीसल्याण्ड भू. पू. सैनिक स्कुल सञ्चालक समितिका अध्यक्ष रुम बहादुर फुंजा थापा लगायतले संस्थाको प्रगति र उपलब्धिको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं रुद्रपुर सेवा केन्द्रका संयोजक भैर बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा रुद्रपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य धनसिंह रानाले सञ्चालन गर्नुभएको थियो भने उपसमिति सदस्य ओम प्रसाद गुरुङले स्वागत गर्नुभएको थियो ।
जनउत्थान साकोसले २०८२ असार महिनासम्म २२ करोड ६४ लाखभन्दा बढी कारोबार गरेको छ, जसमध्ये ९३४४ सदस्यले मोबाइल एप प्रयोग गरिरहेका छन्। असार मसान्तसम्म यसको जगेडा कोषमा ३८ करोड ९२ लाख रुपैयाँ र शेयर पूँजी २८ करो ४३ लाख रुपैयाँ पुगेको रुद्रपुर सेवा केन्द्रका व्यवस्थापक कृष्ण पुनले जानकारी दिनुभयो ।
सभामा रुद्रपुर सेवा केन्द्रका थम बहादुर सिंजालीले संस्थाको वार्षिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनुभएको थियो। सहकारीद्वारा प्रायोजित भाग्यशाली चिट्ठाबाट ५ जना शेयर सदस्यलाई विद्युतीय इण्डक्सन चुल्हा उपहार प्रदान गरिएको थियो। सभाले निर्णय प्रमाणिकरणका लागि शिवलाल घिमिरे, ज्ञानु वेलवासे र लिल बहादुर दर्लामीलाई प्रतिनिधि छनौट गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एशियाली ऋण महासंघले हरेक वर्ष प्रदान गर्ने (ACCU) एक्सेस ब्राण्ड अन्तर्गत सिल्भर ब्राण्ड समेत प्राप्त गरेको छ। ३९ हजार २३७ जना शेयर सदस्य भएको जनउत्थान साकोसको स्थापना २०५९ साल असोज २६ गते साविक टिकुलीगढ गा. वि. स.–८ सुपौलीमा भएको थियो।