मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवरले रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल मर्चवारीदेवी मन्दिरको दर्शन गर्दै यसलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। दशैंको अवसरमा मन्दिर पुग्नुभएकी सांसद कुँवरले देवीप्रतिको आस्था र विश्वासलाई आत्मसात् गर्दै सबैलाई कम्तीमा एकपटक दर्शन गर्न आग्रह गर्नुभयो। उहाँले मन्दिरको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो।
यसैगरी रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले मर्चवारीदेवी मन्दिरलाई पर्यटनसँग जोड्न र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न विभिन्न सांसद तथा मन्त्रीहरूलाई दर्शनका लागि ल्याउने पहल गरिरहेको जानकारी दिनुभयो। मन्दिरलाई राष्ट्रिय सम्पदाका रूपमा सूचीकृत गर्न प्रधानमन्त्री तथा पर्यटनमन्त्रीसमक्ष प्रस्ताव राखिएको उल्लेख गर्दै उहाँले यसको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई उजागर गरी संरक्षण र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो।