अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ डेभास्थित भगवती माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट निर्माण गरिएको सरस्वती माताको मन्दिरको उद्घाटन गरिएको छ। मन्दिर निर्माण सम्पन्न भएसँगै आज विद्यालयमा मन्दिर उद्घाटन, देवीको प्राण–प्रतिष्ठा तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद बेल्वासेले विद्यालयले पाठ्यक्रम र किताबमा मात्र सीमित नभई व्यवहारिक शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले अध्ययन–अध्यापनमा कुनै असर नपर्ने गरी देउसी–भैलो खेलेर मन्दिर निर्माणमा सहयोग जुटाउने शिक्षक र विद्यार्थीको कार्य अत्यन्त प्रशंसनीय र अनुकरणीय रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालका अनुसार कार्यक्रममा विधिपूर्वक रुद्री पूजा, मन्दिर उद्घाटन, अक्षयकोष तथा चन्दादातालाई सम्मान, विद्यार्थीलाई पुरस्कार वितरण, शिक्षक सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका थिए। कार्यक्रममा अभिभावक, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी र बुद्धिजीवीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भूमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य र वडा अध्यक्ष खेमराज चुदाली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सहायक प्रधानाध्यापक पुनाराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन दीपक भट्टराईले गर्नुभएको थियो।