अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर अनुप गुप्ता आएपछि अर्घाखाँची अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा थपिएको हो । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीबाट यस्ता बिरामीको सामान्य उपचार गर्ने बाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि यो समस्या हटेर गएको अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीको भनाई छ । यो सेवा सुचारु भएपछि अर्घाखाँचीसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान लगायत आसपासका बिरामीलाई समेत राहत पुग्ने अस्पताल प्रमुख डा.तिवारीले बताए ।
१५ शैयाको जिल्ला अस्पतालबाट हाल ५० शैयाको क्षमतामा सेवा प्रदान हुँदै आएको छ । स्थानीय बासिन्दाहरूले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन् । यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरण र जेष्ठनागरिकमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ । नागरिकको सेवामा बिस्तार भएपनि २०४१ सालमा निर्मित पुरानो जिर्ण भवनबाट सेवा दिंदा असहजता भएकोले नयाँ भवनको खाँचो भएको अस्पताल प्रशासनले जनाएको छ ।