भैरहवा । भैरहवामा चेम्बर अफ कमर्स, रूपन्देहीको आयोजनामा दुई दिने सिद्धार्थ खाना महोत्सव आजबाट सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि एवं सांसद पुनम अग्रवालले स्थानीय कला, संस्कृति, भेषभूषा र खानपानको जगेर्ना तथा प्रवर्धन गर्न यस्ता महोत्सवहरू वर्षमा एक वा दुई पटक नभई निरन्तर रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
सांसद अग्रवालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै यसका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी, सिद्धार्थ रंगशाला, र देशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्दै विभिन्न देशका पर्यटकहरूलाई भित्र्याउन सबै पक्ष गम्भीर हुनुपर्ने औंल्याउनुभयो।
कार्यक्रममा उहाँले उद्योगी तथा व्यापारीहरूका समस्यालाई सरकारले गम्भीरतापूर्वक बुझेको उल्लेख गर्दै, मौसमी मसान्तमा हुने कर र बैंक ब्याजदरका जटिलतालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो। स्थानीय नागरिक सरकारप्रति उत्तरदायी रहेको र आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विमानस्थल सञ्चालनदेखि पर्यटन विकाससम्म सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आह्वान गर्नुभयो।