भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८३/०८४ को असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी संगठित तथा आर्थिक अपराधतर्फ ४९ वटा रहेका छन् । त्यसैगरी ज्यानसम्बन्धी २७, भवितव्य तथा आत्महत्या १६, सवारी दुर्घटनासम्बन्धी १४, महिला तथा बालबालिकासम्बन्धी ११, लागूऔषध १०, चोरी ७, सामाजिक अपराध ६ र विविध शीर्षकमा २ वटा मुद्दा दर्ता भएका हुन् ।
अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले असोज महिनामा ८० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट रु १ करोड ९ लाख ६ हजार ३ सय ७१ जरिवाना र ६ वर्ष ७ महिना ८ दिन कैद सजाय असुलउपर गराइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । प्रहरीका अनुसार असोज महिनामा मात्र चालु मुद्दाका ११३ जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ दर्ता भएका घरेलु हिंसाका ९५ वटा निवेदनमध्ये ७३ वटा र छिमेकीबीचको झगडा ठाडो निवेदनका ५३ वटा निवेदनमध्ये ४७ वटामा दुवै पक्षबीच मिलापत्र गराइएको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो । त्यस्तै असोज महिनामा लागूऔषध नियन्त्रणतर्फ १० वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट विभिन्न परिमाणमा लागूऔषधसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।