भैरहवा । नजिकिँदो बडादसैँ पर्वलाई लक्षित गरी रुपन्देहीको भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गरिने भएको छ। चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा नवदुर्गा सुरु हुने घटस्थापनाको पूर्वसन्ध्या पारेर यही असोज २४ र २५ गते महोत्सव सञ्चालन हुन लागेको हो। आयोजकले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको छ ।
साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने सो महोत्सवमा करिब एक सय वटा स्टल रहनेछन् । महोत्सवमा ५० हजारभन्दा बढी दर्शक तथा उपभोक्ता सहभागी हुने अनुमान गरिएको छ। नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाका, गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निकटतालाई ध्यानमा राख्दै सिद्धार्थनगरलाई पर्यटनको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने, होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने मुख्य लक्ष्य रहेको बताउनुभयो।
महोत्सवमा तारे होटेलका व्यञ्जनदेखि विभिन्न जातजातिका परम्परागत तथा मौलिक परिकारहरू उपलब्ध हुनेछन्। साथै, सांस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित गायक दुर्गेश थापा, भोजपुरी कलाकार प्रिति पासवान तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय मौलिक खाना र परिकारका साथै कला, संस्कृति र परम्परालाई महोत्सवमा प्राथमिकता दिइनेछ।
बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई सिद्धार्थनगरमा आकर्षित गरी उनीहरूको बसाइ अवधि र स्थानीय खर्च बढाउने लक्ष्य राखिएको छ। चेम्बर अफ कमर्स रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले सडक खाना महोत्सवका माध्यमबाट नगरको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी संस्थाका पूर्व अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रविन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन, सेवा, खाना र आतिथ्यको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो।