काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उहाँले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गर्नुभएको हो ।
“यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् । दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ”, सभापति थापाले सन्देशमा उल्लेख गर्नुभएको छ ।